कास्की । गण्डकी प्रदेश सरकारले कृत्रिम बाैद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) एक्सरे मेशिन सञ्चालनमा ल्याएको छ ।
छातीसम्बन्धी रोगको समस्या पहिचान र उपचारका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बाग्लुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो । गलकोट नगरपालिका–११ काे रिघामा स्वास्थ्य चौकीमा एआई एक्सरे मेशिनको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुभारम्भ गरे ।
क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले एक करोड ७५ लाख रुपैयाँ खर्च गरी एआई एक्सरे मेशिन खरिद गरेको हो । क्षयरोगलागायतका छातीसम्बन्धी रोगको समयमा उपचार नहुँदा नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रविधि र उपचारमा ध्यान दिएर प्रदेश सरकारले अत्याधुनिक प्रविधिको पहुँच पुर्याउन आवश्यक काम गर्दै आएको स्वास्थ्यमन्त्री पाठकले बताए ।
प्रतिक्रिया