नोभेम्बरमा भित्रिए एक लाख १४ हजार पर्यटक

नोभेम्बरमा भित्रिए एक लाख १४ हजार पर्यटक



काठमाडौं । सन् २०२४ को नोभेम्बर महिनामा एक लाख १४ हजार पर्यटक भित्रिएका छन् ।

पर्यटन बोर्डको तथ्यांकअुसार गत महिनाभरीमा एक लाख १४ हजार ५०१ पर्यटक भित्रिएका हुन् । अघिल्लो महिना अक्टोबरमा एक लाख २४ हजार पर्यटक भित्रिएका थिए ।

पर्यटकीय सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेको बोर्डले जनाएको छ ।

तर यसपालिको सिजनमा अपेक्षा गरेअनुसारको पर्यटक नबढेको बोर्डका निर्देशक मणि लामिछानेले बताए ।

‘पर्यटकीय सिजनमा हामीले डेढ लाख बढी पर्यटक आउँछन् भन्ने आकलन थियो,’ उनले भने, ‘तर बाढी पहिरो र विमानस्थल बन्द लगायतले पर्यटकले बुकिङ रद्द गरे त्यसैले आगमन केही घट्यो ।’

यसपालि घुम्न आउनेमध्ये सबैभन्दा धेरै १९ हजार ९१५ भारतीय पर्यटक रहेका छन् ।

त्यस्तै, अमेरिकाबाट १० हजार, चीनबाट ९ हजार, अस्ट्रेलियाबाट ४ हजार, श्रीलंकाबाट ४ हजार, बेलायतबाट साढे ६ हजार पर्यटक आएका छन् ।

तथ्यांक हेर्दा अघिल्लो महिनाको तुलनामा श्रीलंकाबाट नेपाल घुम्न आउने पर्यटक बढेका छन्। अघिल्लो महिना एक हजार पर्यटक घुम्न आएका थिए भने यसपालि चार हजार ३९५ पर्यटक आएका छन् ।

त्यसैगरी, बंगलादेशबाट ५ हजार, जर्मनीबाट झन्डै ४ हजार पर्यटक भित्रिएका छन् ।