काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सात जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले बाँकी रहेका जिल्लाको अधिवेशन यही महिनाभित्र सम्पन्न गर्ने बताए ।
मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । गत जेठ मसान्तमा जिल्ला अधिवेशन गर्नुपर्ने भए पनि सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको अध्यक्ष डा सुब्बाले बताए ।
उनले बझाङ जिल्लाको अधिवेशनको समय यही महिनाको अन्तिममा तोकिएको र बाँकी जिल्लाको अधिवेशन पनि चाँडै तोकिने बताए ।
पार्टीले अधिवेशन हुन बाँकी रहेका सबै जिल्ला कमिटीलाई यही मङ्सिर महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको अध्यक्ष डा सुब्बाले बताए ।
“मङ्सिर महिनामा अधिवेशन सक्नुपर्ने हो । जिल्ला कमिटीले मिति तोकेर आउनुपर्दछ”, उनले भने, “अनि हामीले निर्वाचन गराउने हो ।” अहिलेसम्म ७० जिल्लाका जिल्ला अधिवेशन सम्पन्न भएका छन् ।
प्रतिक्रिया