बारा । गत मंसिर ०१ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले ५ दिन सार्वजनिक बिदा दिइने भएको छ । बारा जिल्लाको १६ वटै पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको मंसिर ०२ गते बसेको बैठकको यस्ताे निर्णय गरेकाे हाे ।
प्रत्येक पाँच बर्षमा विश्व प्रसिद्ध गढीमाई मेला बाराको बरियारपुरमा लाग्दै आएको छ । मेला अवलोकन गर्नको लागि बाराका १६ वटै पालिकाहरुले ४ दिनदेखि लिएर ५ दिनसम्म स्थानीय चाड पर्व बिदा अन्तर्गत पालिकाहरुमा बिदा दिइने महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।
मेलाको अवसर पारे जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानीय चाड पर्व बिदा अन्तर्गत उपमहानगर मातहतका सबै वडा कार्यालय, सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु, संघ संस्थाहरु, बैंक तथा बित्तीय संस्थाहरु मंसिर २१ गते देखि लिएर २४ गते सम्म बन्द रहने जीतपुरसिमरा उपमहानगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।
गढीमाई मेलालाई सफल तथा ब्यवस्थित रुपमा संचालन ब्यवस्थापन गर्नुको साथै गढीमाई क्षेत्रको पर्यटकीय, संस्कृतिक बिकास प्रवर्द्धन गर्नको लागि मंसिर २१ गतेदेखि लिएर २५ गतेसम्म अति आवश्यक सेवाबाहेक सम्पूर्ण वडा कार्यालय र बैंक बित्तीय, शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं पन्चबर्षिय गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष यादवले बताए ।
मंसिर ०१ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध गढीमाईको बेला मंसिर ३० गते सम्म लाग्ने छ ।
प्रतिक्रिया