महोत्तरीमा विपन्न विद्यार्थीलाई पढाउन विभिन्न सङ्घसंस्थाको सहयोग

महोत्तरीमा विपन्न विद्यार्थीलाई पढाउन विभिन्न सङ्घसंस्थाको सहयोग



काठमाडौं । महोत्तरीको बर्दिबासमा रहेका विभिन्न सङ्घसस्थाले विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेका छन् ।

बर्दिबासमा रहेको पद्मशम्शेर स्मृति प्रतिष्ठान र बर्दिबास हेल्प फाउन्डेशन तथा पालिकामा क्रियाशील विभिन्न वित्तीय संस्थाले सञ्चालन गरेका शैक्षिक सहयोगका कार्यक्रमबाट नगर क्षेत्रका विपन्न वर्गका ६६ विद्यार्थीले अध्ययनको अवसर पाएका छन् ।

प्रतिष्ठानको सहयोगमा ३३ जना चार वर्षे र २४ जना तीन वर्षे प्राविधिक डिप्लोमा एवम् नौ जना शिक्षा तथा वाणिज्य सङ्कायअन्तर्गत स्नातक तहमा अध्ययनरत छन् । आफ्ना मातापिताको स्मृतिमा २०७७ सालमा स्थानीयवासी विष्णु खड्काले प्रतिष्ठान स्थापना गरी विपन्न परिवारका छात्रछात्रालाई छात्रवृत्तिको व्यवस्था गरेका हुन् ।

यसैगरी बर्दिबास–२ मा रहेको जनता माध्यमिक विद्यालयबाट २०४९ सालमा प्रवेशिका परीक्षामा सामेल भएका पूर्वविद्यार्थीले बर्दिबास हेल्प फाउन्डेशन स्थापना गरेर सडक मानव र आश्रयविहीनलाई खाजा र खानाको व्यवस्था गर्नाका साथै २०७८ सालदेखि नगर क्षेत्रका विपन्न परिवारका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म यो संस्थाबाट ३० जनाले छात्रवृति पाएका छन् ।

यसैगरी सानिमा बैंकले पनि दुई जनालाई स्नातक तहमा पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । बैंकबाट अहिलेसम्म ६ जना विद्यार्थी लाभान्वित भएका छन् ।