काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कसैको गुट नभएको दाबी गरेका छन् ।
आइतबार च्यासलमा स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले एमाले वैचारिक रूपमा स्पष्ट र पार्टीभित्र कसैको गुट नभएको दाबी गर्दै भने, ‘कतिपयले विष्णु पौडेलको गुट छ, शंकर पोखरेलको गुट छ भन्छन् तर एमालेमा कसैको गुट छैन । मैले गुट गर्ने कुरै भएन, सबै मेरा साथीहरू हुन् ।’
नेकपाकालपछि एमाले पुनर्गठनयता पार्टीमा कसैको गुट नभएको उनको दाबी थियो । आफ्नो उत्तराधिकारी बन्ने दौडमा लागेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखेरलबारे ओलीले भनेका छन्, ‘विष्णु पौडेलको पनि गुट छैन, शंकर पोखरेलको पनि गुट छैन । एउटा नजिक र अर्को टाढा भन्ने छैन, दुवै मेरा लागि बराबर हुनुहुन्छ । त्यसैले कोही भ्रममा पर्न आवश्यक छैन ।’
ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप गर्नुको कुनै तुक नरहेको बताएका छन् । अध्यक्ष ओलीले भने, ‘पूर्वराष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनुपर्यो भन्ने कुराको कुनै तुक छैन, उहाँ सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यकता पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ ।’
प्रतिक्रिया