म्याग्दी । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले एक्लै निर्वाचन लड्ने तागत माओवादीसँग भएको बताएका छन् । पछिल्लो स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम हेर्दा गठबन्धन भन्दा एक्लै निर्वाचनमा जाँदा माओवादीलाई जनताको साथ मिलेको उनको भनाइ छ ।
सोमबार बेनीमा उपमहासचिव पुनले पार्टी कार्यकर्तालाई समसामायिक राजनीतिक विषयमा प्रशिक्षण दिँदै उनले भने, ‘निर्वाचनमा जाँदा एमाले वा कांग्रेस कुनै एक नभई नहुने, एक्लै निर्वाचनमा जाने कुरा सोच्नै नसक्ने अवस्थामा पुगेका थियौं । तर पछिल्लो उपनिर्वाचनले एक्लै निर्वाचन लड्न सक्ने तागत माओवादी सँग भएको पुष्टि गरिदियो ।’
माओवादीको मुद्दालाई जनताले साथ दिएकाले उपनिर्वाचनमा एक्लै सफलता मिलेको उनको भनाइ थियो । ‘उपनिर्वाचनमा समग्र रुपमा हामी दोस्रो भयौं । एक्लै हुँदा लोकप्रिय मतमा हामी पहिलो हुँदा रहेछौं । एक्लै हुँदा सिटमा दोस्रो भयौं, कांग्रेस, एमाले सँग मिलेर निर्वाचन लड्दा हामी तेस्रो भयौं,’ उनले भने । माओवादीलाई अब निर्वाचनमा गठबन्धन आवश्यक नभएको उनले बताए ।
गठबन्धनको मानसिकता त्याग्न उनले कार्यकर्तालाई अनुरोध समेत गरे ।
प्रतिक्रिया