काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा जितका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनायो ।
जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए । यस्तै शुभ कंशाकरले २६, ओपनर लाहिरु मिलान्था र हर्ष थाकरले १२/१२ र कप्तान आशिफ शेख र अरनिको यादवले ११/११ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । सईफ जैवले दुई तथा स्कट कग्लेजिन र अविनाश बोहराले एक एक विकेट लिए ।
जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ । लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिमको ब्याटिङ र बलिङ लयमा छ ।
यता लिगको सुरुवाती खेलहरुमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरको प्रदर्शन पनि क्वालिफायरमा बलियो हुने अपेक्षा गरिएको छ । जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसात् गरेको थियो ।
सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने हुनाले आजको यस खेल निकै महत्वपूर्ण रहेको छ ।
यस्तै आजै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराएर दोसो क्वालिफायरमा स्थान बनाएको छ ।
प्रतिक्रिया