अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्य : ओली

अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्य : ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अघिल्लो सरकारतर्फ लक्ष्य गर्दै कमिलाको आयु पुग्यो भने पखेटा पलाउँछ भने झैँ मुलुकका एमाले र काँग्रेसजस्ता पार्टी हुँदाहुँदै कस-कसका के-के नाँच चलेका हुन् भनेर जनताले भन्न थालेपछि स्थिरतातर्फ देशलाई फर्काउन आफूहरुले नयाँ सरकार बनाएको बताए ।

‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ । हाम्रो सरकारलाई सराप्नेहरु पनि नभएका होइनन् । सरकार अहिले ढल्छ, भरे ढल्छ भनेर धारे हात लगाउनेहरु छन्’, प्रधानमन्त्री ओलीले भने, ‘यी दुई पुराना पार्टीले समाज सुधारको यात्रा सञ्चालन गर्दै आएक छन् । राजाका पालामा अनेक मुद्धा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए । हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ । जातपात भन्ने नचाहिने कुरा हो । यसको अन्त्यका लागि हामी विद्यमान कानूनमा आवश्यक संशोधनका लागि पनि लाग्नेछौँ ।’

प्रधानमन्त्री ओलीले जातीय छूवाछुत र साम्प्रदायिकतालाई समाज विकासको ऐजेरु भएका भन्दै त्यसलाई जरैदेखि फाल्नुपर्ने बताए । असमानता, अन्याय, छुवाछुत र दुःख भोगेर कोही सुखी हुन नसक्ने र सुखी हुन असमानता र छुवाछुत हटाउनुपर्ने उनले बताए । संविधानमा आफूहरूले सामाजिक न्याय र समानताको व्यवस्था पनि त्यही कारण गरिएको उनको भनाइ थियो ।

“मान्छे एउटै हो । जन्मँदै कोही पनि श्रेष्ठ हुँदैन । जन्मँदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन । सरकारले त्यस्ता कुरालाई मान्यता दिँदैन,” प्रधानमन्त्री ओलीले भने ।