काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार पहिलो क्वालिफायर खेलेमा सुदूरपश्चिम रोयल्ससँग जनकपुर पराजित भयाे ।
अब जनकपुरले बिहीबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्दैछ । खेलमा जित हात पार्ने टोलीले शनिबार उपाधिका लागि सुदूरपश्चिमसँग खेल्नेछ ।
बुधबारको खेलमा कप्तानीको भूमिका रहेका जनकपुरका मार्की खेलाडी आसिफ शेख आफूहरूको ब्याटिङ नचल्दा हार ब्यहोर्नु परेको बताए ।
उनले भने, ‘सुरूवात राम्रो भएको थियो । हामीले मिडल ओभरमा जति राम्रो ब्याटिङ गर्न पर्थ्यो, त्यो गर्न सकेनौं। कुनै एक ब्याटर टिक्नु पर्थ्यो त्यो हुन सकेन । हामीले ३०-४० रन कम बनायौं ।’
खेलमा नियमित कप्तान अनिलकुमार साह चोटका कारण अनुपस्थित थिए ।
बुधबारको खेलमा सुदूरपश्चिमले बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गर्दा जनकपुर ब्याटिङमा चुकेको उनले बताए ।
आसिफले कर्णालीविरूद्ध खेल जितेर फाइनलमा सुदूरपश्चिमसँग भेट्ने आशा व्यक्त गरे। ‘विश्वास छ कि फाइनलमा हाम्रो भेट हुन्छ र जित्छौं,’ उनले भने ।
जारी एनपिएलमा सुदूरपश्चिमले जनकपुरलाई दुई पटक हराइसकेको छ । यसअघि जनकपुरमाथि सुदूरले लिग चरणमा जित निकालेको थियो । फाइनलमा जनकपुर पुगेमा दुई टोलीबीच तेस्रो भेट हुनेछ ।
प्रतिक्रिया