भरतपुर । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षबाट बाहिरिएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फोटोका सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले त्यो घटनाका सत्यतथ्य बाहिर आउने स्पष्ट पारे ।
“प्रहरीलाई यसका बारेमा गम्भीरतापूर्वक छानबिन गर्न, के भएको हो सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएको छु । छानबिन भइरहेको छ । पहिला भएको के हो पत्ता लगाउन आवश्यक छ ।”, मन्त्री लेखकले भने, “भाको के हो सत्यतथ्य बाहिर आउँछ । अनि मात्रै त्यसउपर कारवाही प्रक्रिया अगाडि बढ्छ ।”
ठगी अभियोग लागेका रास्वपा सभापति लामिछानेको हिरासतमा सुत्दै गरेको भनिएको फोटो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । लामिछानेलाई अनुसन्धानका क्रममा जिल्ला जिल्लामा घुमाउनु गलत भएको भनी सरकारविरुद्ध आलोचना भइरहेका बेला गृहमन्त्री लेखकले भने त्यो स्वाभाविक प्रक्रिया भएको बताए ।
“मैले बुझेको कानुन अपराधिक कार्यमा कति ठाउँमा अपराधजन्य घटना भएको छ त्यति ठाउँमा अनुसन्धान हुन्छ । एउटा जिल्लामा अपराधिक घटना भयो भने, एउटा जिल्लामा ठगी भयो भने अर्काे जिल्लामा अनुसन्धान हुँदैन । त्यही जिल्लामा हुन्छ ।” उनले भने ।
प्रतिक्रिया