एनपीएलमा जनकपुरविरुद्ध अभद्र नारा लगाउनेमाथि कारबाही गर्न सिफारिश

एनपीएलमा जनकपुरविरुद्ध अभद्र नारा लगाउनेमाथि कारबाही गर्न सिफारिश



काठमाडौं । मधेशी आयोगले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नारा जुलुस लगाउनेहरूमाथि कारबाही गर्न सरकारलाई सिफारिश गरेको छ ।

आयोगले एनपीएलको क्वालिफायर–२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा एउटा उद्दण्ड र अराजक समूहले जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको भन्दै कारबाहीको सिफारिश गरेको हो । उद्दण्ड र अभद्र व्यवहार देखाउने व्यक्तिहरूलाई तुरुन्त कानूनी रूपमा दण्डित गर्न र संवेदनशील हुन आयोगले अपिल गरेको छ ।

यसैबीच सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सको खेलपछि मधेशी समुदायका खेल समर्थकहरूलाई नश्लीय व्यवहार गरेको भन्दै जनमत पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रंगभेदी क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न पनि जनमत पार्टीले गृह प्रशासनसँग माग गरेको छ ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि जनकपुर बोल्ट्सका समर्थकप्रति नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेहरूलाई तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् । उनले यी हरकतहरू कुनै पनि बहानामा स्वीकार्य नहुने बताएका छन् ।