रवि लामिछानेको सांसद पद स्वतः निलम्बन

रवि लामिछानेको सांसद पद स्वतः निलम्बन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वतः निलम्बनमा परेको छ ।

आइतबार कास्की जिल्ला अदालतमा लामिछानेविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ ।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ । ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ ।

सरकारी वकिल कार्यालयले लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरेको छ । गत कात्तिक २ गते पक्राउ परेका उनीविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता भएको हो । उनकी पत्नी निकिता पौडेलविरूद्ध पनि मुद्दा दायर गरेको छ ।