काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक सञ्चालनमै राख्ने संकेत गरेका छन् । एरिजोनाको फीनिक्समा कन्जरभेटिभ सङ्गठन टर्निङ प्वाइन्ट युएसएले आयोजना गरेको एक कार्यक्रममा ट्रम्पले भने लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई अमेरिकामा बन्द नगर्ने संकेत गरेका हुन् ।
ट्रपले राष्ट्रपति चुनावमा केही प्रमुख मतदातासम्म पुग्न टिकटकले धेरै मद्दत गरेको बताएका छन् । उनले टिकटकलाई केही समयका लागि सञ्चालनमै राख्ने सम्भावना रहेको उल्लेख गरेको पनि चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चुनावको बेला टिकटकमार्फत प्रचार गर्दा राम्रो प्रतिक्रिया आएको र भिडियो अर्बौ पटक हेरिएको ट्रम्पले बताएका छन् । आफूले देखेको एउटा ग्राफ अनुसार आफ्ना विचार टिकटकमा सबैभन्दा धेरै हेरिएको पनि ट्रम्पको भनाइ छ ।
प्रयोगकर्ताको गोपनीयता भंग गरेको र राष्ट्रिय सुरक्षामै खतरा देखिएको भन्दै गएको अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकको मातृ कम्पनी बाइटडान्सलाई टिकटक बेच्नका लागि दुई सय ७० दिनको समय दिने कानून बनाएका थिए ।
यदी टिकटकले कानूनको पालना नगरेमा एप्पल र गुगल जस्ता एप स्टोर अपरेटरहरूलाई उनीहरूको प्लेटफर्मबाट टिकटक हटाउन निर्देशन दिने कानूनमा उल्लेख छ । तर अमेरिकी सरकारको यो कानून र निर्देशनविरुद्ध टिकटकले अदालतमा मुद्धा दर्ता गरेको छ । जसको निर्णायक सुनुवाई आउँदो महिना अर्थात् जनवरीमा हुँदैछ ।
प्रतिक्रिया