पोखरामा निषेधित क्षेत्रको आदेश हटाउन रास्वपाको माग

पोखरामा निषेधित क्षेत्रको आदेश हटाउन रास्वपाको माग



पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पोखराका केही क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्रको आदेश हटाउन माग गरेको छ ।

रास्वपा कास्कीका सभापति यदुनाथ अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउँदै निषेधित क्षेत्रको आदेश हटाउन माग गरेका हुन‍् ।

दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरूको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सव सहितका कार्यक्रमहरूसमेत प्रभावित हुने अवस्था रहेको रास्वपाको भनाइ छ ।

रास्वपा सभापति रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी ४ गते कास्की जिल्ला अदालतमा उपस्थित गराएसँगै शहीदचोक, जिल्ला अदालत आसपास र जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटन क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र घोषणा गरेको थियो ।