रूपन्देही । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गर्न सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले कार्यदल बनाएर आन्तरिक रूपमा काम सुरू गरिसकेको बताएका छन् ।
रूपन्देहीमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले असार १७ मा भएको ७ बुँदे सहमतिअनुसार संविधान संशोधनका लागि कार्यदल बनेको र काम पनि सुरू भइसकेको बताएका हुन् ।
कांग्रेस र एमालेले बनाएको कार्यदलले संविधानमा के-के विषय संशोधन गर्ने भन्नेबारे आन्तरिक रूपमा तयारी गर्नेछन् । त्यसपछि सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन अघि बढ्ने पनि उनले बताए ।
‘संविधान संशाेधनकाे प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेकाे कार्यदल गठन भइसकेकाे छ । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग गरेर नै संविधान संशोधनकाे प्रक्रिया अगाडि बढ्छ,´ उपप्रधानमन्त्री सिंहले भने ।
उपप्रधानमन्त्री सिंहले बुधबार रूपन्देहीको सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिँचाइ योजनाको उद्घाटन गरे । पर्यटन करिडोर र लिफ्ट सिँचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्था परिवर्तन गराउने उनले विश्वास व्यक्त गरे ।
‘गरे देशमै हुन्छ भन्ने उदाहरण सियारी गाउँपालिका बनेको छ । देशमा केही भएन भन्ने भाष्य बनाउन खोजिएका बेला सियारी गाउँपालिकाले एउटा नमुना प्रस्तुत गरेको छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘पर्यटन करिडोरले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने छ भने लिफ्ट सिँचाइले यहाँको कृषि उत्पादन बढाउने र यहाँका कृषकको समृद्धिका लागि योगदान पुग्नेमा विश्वस्त छु ।’
नागरिकको जीवनमा परिवर्तन ल्याउन सियारी गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा गरेको काम उदाहरणीय भएको भन्दै उनले प्रशंसा गरे ।
लिफ्ट सिँचाइ आयोजनाले १०५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा हुनेछ । सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले कृषकको चाहना अनुसार पालिकाले काम गरिरहेको बताए । ‘दुई वटा योजना सफल भएपछि यहाँको आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेछ,’ उनले भने ।
त्यस्तै, फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले कोभिडपछिको धराशयी अर्थतन्त्रलाई चलायमान बनाउन र लयमा ल्याउन सरकारले काम गरिरहेको र अहिले सुधारको सङ्केत देखिन थालेको बताए । ‘कोभिडपछिको अर्थतन्त्र उकास्न सरकारले काम गरिरहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित छ ।’ उपप्रधानमन्त्री सिंले भने, ‘अर्थतन्त्र सुधार्न उच्चस्तरीय संयन्त्र बनाएका छौँ । अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ ।’
त्यस्तै पुस लाग्दै गर्दा विकास खर्च समयमा गर्न के छ प्रगति भन्ने प्रश्नमा मन्त्री सिंहले बजेटमा परेका योजना कार्यान्वयनमा लैजान विधि र प्रक्रियामा समय लाग्ने बताए ।
प्रतिक्रिया