काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको च्याम्पियन बनेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा जारी लिगमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै लिगको एक खेल अगावै उपाधि जितेको हो । जितसँगै पुलिसले २१ खेलमा ४८ अंक बनायो । दोस्रो स्थानमा रहेको एनआरटीको ४१ अंक छ ।
पुलिसलाई जित दिलाउन विक्रम गौतम र कप्तान सुवास बमले गोल गरे । चर्च ब्वाइजका लागि स्वयमनिमा पाख्रिनले सान्त्वना गोल फर्काए । पुलिस यु–१८ युथ लिग जित्ने तेस्रो टोली हो । यसअघि त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइज क्लबले उपाधि जितेका थिए ।
प्रतिक्रिया