ऐतिहासिक परिवर्तनमा कांग्रेस र एमाले एकताबद्ध छन् : ईश्वर पोखरेल

ऐतिहासिक परिवर्तनमा कांग्रेस र एमाले एकताबद्ध छन् : ईश्वर पोखरेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ऐतिहासिक परिवर्तनका साथै मुलुकमा संकट उत्पन्न भएका बेला कांग्रेस र एमाले एकताबद्ध भएर अघि बढेका बताएका छन् ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालद्वारा संयुक्तरुपमा आयोजित नेपाल पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा भएका ऐतिहासिक परिवर्तनमा कांग्रेस र कम्युनिष्ट पार्टी एकढिक्का भएर लागेका इतिहास साक्षी रहेको उल्लेख गरे ।

उनले कांग्रेस र कम्युनिष्ट मिलेर काम गर्दा ऐतिहासिक जित हाँसिल भएका उदाहरणहरु रहेका जिकिर गरे । “मुलुकमा सङ्कट आउँदा दुवै पक्ष एकताबद्ध भएर मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन् । तर आवश्यकताअनुसमर कतिपय अवस्थामा कांग्रेस र एमाले प्रतिस्पर्धी पनि बनेका छन्”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले कुनै पनि राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै कांग्रेस र कम्युनिष्टबीच पनि अस्वस्थ प्रतिस्पर्धा नरहोस् भनेर सावधानी अपनाउने गरिएको धारणा राखे । उनले राजनीतिक पार्टी फरक-फरक भए पनि आधारभूत विषय देश भक्ति र मुलुकको पूर्वाधार विकास रहेको जिकिर गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाल, भारत र चीनबिच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै त्यसमा सबै संवेदनशील हुनुपर्नेमा जोड दिए । “हामी नेपालीबीच देशको प्रेम र देशभक्तिको भाव अत्यधिक छ”, उनले भने, “राजनीतिक पार्टी फरक भए पनि नागरिकलाई प्राथमिकतामा राखी मुलुकको विकासमा सबै दल केन्द्रित छौँ । हामी दुई ठूला मुलुक भारत र चीनको बीचमा छौँ, यो सम्बन्ध प्रगाढ बनाउन सबै संवेदनशील हुनु जरुरी छ ।”

उनले नेपाली राजनीतिमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताए । उनले पपुलिजम र राजनीतिमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीका कमजोरी बाहिर ल्याएर सुधारका लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने बताए ।