जनताको पक्षमा संविधान संशोधन हुनुपर्छ : सिटौला

जनताको पक्षमा संविधान संशोधन हुनुपर्छ : सिटौला



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

बुधबार झापाको कचनकवलमा आयोजित पार्टीको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने पनि बताए ।

जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताउँदै सिटौलाले भने, ‘हाम्रो विचारलाई वाद गरेर, हामीले अंगालेको नीतिलाई वाद गरेर संविधानले स्थापित गरेको मार्गलाई वाद गरेर कोही अगाडि जान सक्दैन । त्यसैले हामीले भन्ने गरेका छौँ, संविधान संशोधन गरौँ, जनताको पक्षमा । पार्टी विशेषको पक्षमा होइन । नेता विशेषको पक्षमा होइन ।’

देशकै ठूलो राजनीतिक दल भएर पनि दोस्रो ठूलो दलका नेतालाई कांग्रेसले प्रधानमन्त्री मानेर अघि बढेको बताउँदै उनले भने, ‘ओलीजीले सरकारको नेतृत्व गर्नुभएको छ । आजको दिनमा पनि नेपालमा सबैभन्दा ठूलो पार्टी गएको निर्वाचनको मात्रै तुलना गर्ने हो भने नेपाली कांग्रेस पार्टी सबैभन्दा ठूलो र शक्तिशाली पार्टी छ । स्थानीय तहमा पनि र सबैतिर हामी ठूलो पार्टी छौँ । हामी ठूलो पार्टी भएर पनि दोस्रो पार्टी एमालेको नेतालाई प्रधानमन्त्रीमा समर्थन गरेका छौँ । सरकारमा सामेल भएका छौँ । सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली कांग्रेसको नीतिगत नेतृत्व रहनेछ ।’