काठमाडौं । संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबिच भएको सहमति तलमाथि नहुने सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका गुरुङले दुई दलबिच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने भन्दै सहमतिलाई असर पुग्ने कुनै काम नहुने स्पष्ट पारेका हुन् ।
संविधान संशोधनका लागि पुरा गर्नुपर्ने प्रक्रिया लामो हुन सक्ने भएकाले केही समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुन सक्ने उनले बताए ।
प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर दुई दलले संशोधनको विषय किटान गर्ने र त्यसपछि उक्त विषयमा अन्य दलहरूसँग छलफल गरिने धारणा राखे ।
संविधान संशोधनलाई राष्ट्रिय एजेन्डाका आधारमा अघि बढाउनुपर्ने अवस्था रहेकाले केही समय लाग्न सक्ने उनको भनाइ छ ।
उनले सदनमा ‘होल्ड’मा रहेका विधेयकलाई समेत अरू दलसँग छलफल गरेर छिटोभन्दा छिटो अघि बढाइने बताए ।
प्रवक्ता गुरुङले आउँदो फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन राज्यमन्त्रीलाई स्वीकृति प्रदान गरिएको जानकारी दिए ।
यस्तै, सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकका रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय गरिएको उनले बताए ।
माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने एक कार्यक्रममा सहभागी हुन उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
प्रतिक्रिया