अध्यादेशबाट देश चलाउनु गलत : एनपी साउद

अध्यादेशबाट देश चलाउनु गलत : एनपी साउद



बुटवल । सत्तारुढ दल कांग्रेसका नेता एनपी साउदले अध्यादेशबाट देश चलाउन खोजेको भन्दै सरकारको आलोचना गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले बुटवलमा आइतबार पत्रकारहरूसँग बोल्दै संसद्को नियमित अधिवेशन छलेर अध्यादेशको सहारामा देश चाउन खोज्नु गलत भएको बताएका हुन् ।

सरकारसँग पर्याप्त बहुमत हुँदा पनि बैठक आह्वान नगरी संसद्लाई बन्धक बनाएर अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनको भनाइ छ । उनले तत्काल संसद्को अधिवेशन बोलाउन पनि माग गरे ।

अध्यादेशमार्फत ल्याइएका विधेयक सर्वस्वीकार्य नहुने औँल्याए । ‘संसद्लाई लामो समयसम्म बन्धक बनाउँदै अध्ययादेशमार्फत अहिलेको सरकारले विभिन्न ऐन बनाइरहेको छ, जुन संविधानसम्मत छैन यस विषयमा चौतर्फी विरोध भइरहेका छन् यसले राम्रो सन्देश गइरहेको छैन,’ उनले भने ।

ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्ने धारणा राखे । ‘प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्ति राख्दा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमतिविपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ । ’

साउदले दुई दलबीचको न्युनतम साझा सहमति कार्यान्वयन नभएको गुनासासमेत आइरहेको भन्दै पूर्णपालना गर्न सुझाव दिए ।