साफ्टाको सदस्यबाट नेपाल बाहिर निस्कनुपर्छ: पूर्वअर्थमन्त्री महत

साफ्टाको सदस्यबाट नेपाल बाहिर निस्कनुपर्छ: पूर्वअर्थमन्त्री महत



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौताको सदस्य राष्ट्रको रूपबाट नेपाल बाहिर निस्कनुपर्ने धारणा राखेका छन् ।

आइतबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरूसँगको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा रहेका देशहरूले हस्ताक्षर गरेको दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र साफ्टाको सम्झौता सदस्य राष्ट्रहरूमा नै बेवास्ता बढ्दो रहेकाले नेपाल बाहिर निस्कन आवश्यक रहेको तर्क गरेका हुन् ।

उनले सम्झौताको मूल मान्यताविपरीत अन्य राष्ट्रले सहमति नमान्ने तर नेपालले मात्रै मान्नुपर्ने अवस्था रहेकाले बाहिर निस्कनुपर्ने बताएका हुन् । साफ्टाको औचित्यमाथि नै प्रश्न उठ्न थालेकाले नेपालले पालना गरेर बसिरहन नहुनेमा उनले जोड दिए ।

नेता महतले नेपाल अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गर्न हौसिने प्रवृत्तिमा विचार पुर्‍याउनुपर्ने अवस्था आएको धारणा राखे ।