काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले दुई ठूला दलको सत्ता गठबन्धन बलियो रहेको जिकिर गरेका छन् ।
सुदूरपश्चिम प्रदेश कमिटीले निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकमा संविधान संशोधन २०८७ मा मात्रै हुनेभन्दै दिएको अभिव्यक्ति पछि गठबन्धनमा खटपट हुने चर्चा चलेका बेला प्रधानमन्त्रीको अभिव्यक्तिले गठबन्धनमा कुनै समस्या नहुने स्पष्ट पारेका हुन् ।
नेता भट्टले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नभएको सन्दर्भलाई लिएर उक्त कुरा बोलेको उल्लेख गरे ।
‘हाम्रो पार्टीको केन्द्रीय समितिमा विभिन्न एजेन्डामा छलफल हुने क्रममा संविधान संशोधनका लागि राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नहुँदा त्यसमा जोड गरेर एमालेको मिसन २०८४ लाई सफल पार्नुपर्छ भन्नुभएको थियो’, उनले भने ।
पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेदेखि नै छलफल गरेर २०८७ सालमा पूर्ण रूपमा संविधान संशोधन गर्न सकिने कुरा अध्यक्षको रहेको भट्टले स्पष्ट पारेका थिए ।
‘अहिले देखिनै विधानका कुन–कुन दफा संशोधन गर्ने हो ? छलफल गर्दै जानुपर्छ’, भट्टले भने, ‘बैठकमा अध्यक्ष कमरेडकै शब्द के थियो भने, २०८७ मा संविधान पूर्ण रूपमा संशोधन हुनसक्छ ।’
प्रतिक्रिया