काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।
जिल्ला अदालत काठमाडौंमा बुधबार रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमण श्रेष्ठले बहस गरेका हुन् । पन्त र श्रेष्ठ दुवै पूर्वमहान्यायाधिवक्ता हुन् ।
यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए ।
रवि पक्षका वकिलहरूले बोलाएको बेला हाजिर हुने गरी लामिछानेलाई छाड्न माग गर्दै इजलासमा बहस गरिरहेका छन् ।
लामिछाने पक्षका वकिल सुशील पन्तले पनि लामिछानेले प्रमाण नष्ट गर्न नसक्ने भएकोले बोलाउने बेला हाजिर हुने गरी छाड्न माग गरे ।
‘सहकारी ठगी मुद्दा भनिएको छ तर ठगिने र ठग्नेबीच सम्बन्ध देखिँदैन, सहकारीको पैसा आएको गोर्खा मिडियालाई प्रतिवादी किन बनाइएन ?,’ उनले प्रश्न गरे, ‘लिखित गरेको छ भने कानुनले पनि ठगी मान्दैन ।’
उनले स्वर्णलक्ष्मी सहकारीमा लामिछानेसँग माग गरेको बिगोबारे पनि प्रश्न उठाए ।
जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए ।
उनीविरुद्ध काठमाडौंमा पनि परेको मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको हाे ।
अधिवक्ता श्रेष्ठले स्वर्णलक्ष्मी सहकारीको मुद्दामा लामिछानेमाथि माग गरिएको बिगोको हिसाब नै नमिलेको बताएका थिए ।
सहकारीबाट ठगी गरेर गोर्खा मिडियामा पैसा ल्याएको कुरा अभियोगकर्ताले पुष्टि गर्न नसकेको पनि उनले दाबी गरेका थिए । ‘जिबीले गरेका काम पनि रविले नै गरेकोजस्तो गरी भास्य निर्माण गर्न खोजिएको छ,’ उनले भने, ‘रविलाई धरौटी माग गर्न पनि अन्याय हुन्छ, आवश्यक पर्दा बोलाउने गरी छाडियोस् ।’
रविविरुद्ध बहस गरेका वकिलहरूले प्रमाण नष्ट हुनसक्ने भन्दै उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया