बंगलादेशको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री जियालाई दियो सफाइ

बंगलादेशको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री जियालाई दियो सफाइ



ढाका । बंगलादेशको सर्वोच्च अदालतले बुधवार पूर्वप्रधानमन्त्री खालिदा जियालाई सफाइ दिएको छ । उनी विरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको थियो । भ्रष्टाचार मुद्दामा सफाइ पाएसँगै जियासामु चुनावमा उम्मेदवारी दिने बाटो खुलेको छ ।

बंगलादेशको अन्तरिम सरकारले यस वर्षको डिसेम्बरमा वा सन् २०२६ को पहिलो अर्धवार्षिक अवधिमा निर्वाचन गर्दैछ । यतिबेला जिया उपचारका लागि लन्डनमा छिन् ।

यो महिनाको सुरुमा उनी लन्डन गएकी थिइन् । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको सरकारले जियामाथि भ्रष्टाचारको मुद्दा चलाइरहेको थियो । उक्त मुद्दामा पनि निर्दोष ठहर भएपछि जिया उपचारका लागि लन्डन गएकी हुन् ।

सन् १९९१ मा प्रधानमन्त्री भएको जियाले खोलेको एउटा अनाथालयलाई दिएको करिब २ लाख ५० हजार डलर बराबरको दान अपचलन गरेको भन्दै सन् २०१८ मा उच्च अदालतले जियालाई १० वर्षको जेल सजाय सुनाएको थियो । बुधवार सर्वोच्च अदालतको पाँच सदस्यीय पुनरावेदन शाखाले उक्त फैसलालाई उल्ट्याएको छ ।