अमेरिकामा ‘टिकटक’ बन्द गर्ने सम्भावना बढ्दा अर्को चिनियाँ एप ‘रेडनोट’ डाउनलोड गर्ने क्रम बढ्याे

अमेरिकामा ‘टिकटक’ बन्द गर्ने सम्भावना बढ्दा अर्को चिनियाँ एप ‘रेडनोट’ डाउनलोड गर्ने क्रम बढ्याे



काठमाडौं । अमेरिकामा टिकटक बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको छ । केही समयदेखि अमेरिकामा रेडनोटको डाउनलोड बढ्दै गएकोमा हिजो अर्थात् मङ्गलवार एपल स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको बीबीसीले जनाएको छ ।

सोमवार र मङ्गलवार मात्रै अमेरिकाबाट सात लाख नयाँ प्रयोगकर्ता जोडिएका रोडनोटलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । मङ्गलवार रेडनोटभित्र ‘टिकटक रेफ्युजी’ शीर्षकमा झन्डै ६३ हजार पोस्ट भएका छन् । सोमवार ५० हजार वटाभन्दा धेरै यस्ता पोस्ट भएका थिए ।

काठमाडौं । अमेरिकामा टिकटक प्रतिबन्धको तयारी हुँदै गर्दा टिकटक शरणार्थी भन्ने समूहको चर्चा बढेको छ । सियाओहङ्शु नामको चिनियाँ एप अङ्ग्रेजीमा रेडनोटको नामबाट डाउनलोड भइरहेको छ ।

सन् २०१३ मा स्थापना भएको यो एप चीनको ठूलो सामाजिक सञ्जाल प्लेटफर्ममध्ये एक हो । चीनको इन्स्टाग्राम भनिने यो एपका ३० करोड मासिक प्रयोगकर्ता छन् । यो एप टिकटक र इन्स्टाग्रामको संयोजनजस्तो देखिन्छ । यसमा प्रयोगकर्ताहरूले आफ्ना जीवनशैली, फेसन, सौन्दर्य, खाना र यात्राका अनुभवहरू शेयर गर्छन् ।

यसअघि जापान, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, भियतनामलगायतका देशमा लोकप्रिय रहेको यो एप अहिले अमेरिकामा पनि लोकप्रिय बन्दै गएको छ । इन्डोनेसियाले अनधिकृत विद्युतीय व्यापारको कारण देखाएर यो एपमाथि कडा नियमन गरेको छ भने भारतले दुई वर्षअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै धेरै चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाउँदा रेडनोट पनि परेको छ ।