अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार ५०० जनालाई क्षमादान

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार ५०० जनालाई क्षमादान



वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार ५०० व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।

राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा भनेका छन्, “जसको सजाय घटाइएको छ, उनीहरूले आज पाउने भन्दा ‘असमान रूपमा लामो सजाय’ भोगिरहेका छन् ।”

उनले यो कदमलाई ‘ऐतिहासिक गल्तीहरू सच्याउन, सजायमा हुने असमानता सच्याउन र योग्य व्यक्तिहरूलाई उनीहरूको परिवारमा फर्कने अवसर प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम’ बताएका छन् ।

राष्ट्रपति बाइडेनले भने, “यो कदमसँगै मैले अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिको तुलनामा धेरैलाई व्यक्तिगत क्षमादान र कम्युटेसन जारी गरेको छु र सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि थप कम्युटेसन वा क्षमादान जारी गर्न सक्छु ।”