झापाका केही ठाउँमा खनजोत नै नगरी मकैबाली लगाउन शुरू

झापाका केही ठाउँमा खनजोत नै नगरी मकैबाली लगाउन शुरू



झापा । नवीनतम प्रविधिबाट मकैखेती हुने भएपछि झापाका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् ।

झापा बाह्रदशी गाउँपालिका–६ का किसान माता सोरेनले भने, ‘मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रिएको बिरुवा हेर्दा खेती राम्रै हुन्छ जस्तो छ ।’ मकैखेतीका लागि एक बिघामा खनजोतमा मात्र १० हजारदेखि १२ हजार रुपैयाँ खर्च हुने उनले बताए । पहिलो पटक भएकाले के कसरी गर्ने भन्ने अनुभव नभएको र उत्पादन राम्रो भयो भने अर्को वर्षदेखि यसरी नै खेती गर्ने उनको भनाइ छ ।

किसानलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत शून्य खनजोत प्रविधिबाट जिल्लाका तीन वटा ठाउँमा मकैखेती भइरहेको छ । कृषि ज्ञान केन्द्रले बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०/१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट प्रदर्शनीका रूपमा मकैखेती गरिरहेको छ ।

प्रदर्शनी खेती गरिएको ठाउँमा अनुगमन गरेर आवश्यक युरिया, पोटास, जिंकलगायत मलखाद उपलब्ध गराइएको कार्यालयका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए ।

कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रूपमा शून्य खनजोत प्रविधिबाट मकैखेतीको प्रदर्शनी खेती गरेको हो । यो प्रविधिको प्रयोगबाट किसानको उत्पादन लागत घट्नेछ भने नयाँ प्रविधि विस्तार र माटोको गुणस्तर सुधार हुनेछ ।

धान काटेको खेतमा खनजोत नगरी मेशिनको प्रयोगबाट एकैपटक मकैको बीउ र मल हालेर मकै रोपिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।