धनराज, ऋषिकेश र लीलाबल्लभले कांग्रेस–एमाले भएकैले उन्मुक्ति पाए: महामन्त्री गगन

धनराज, ऋषिकेश र लीलाबल्लभले कांग्रेस–एमाले भएकैले उन्मुक्ति पाए: महामन्त्री गगन


ग्लोब नेपाल
6.8k
Shares

काठमाडौं । कांग्रेस महामन्त्री एवं सरकार सञ्चलान गर्न गठित संयन्त्रका संयोजक गगनकुमार थापाले आफ्नो पार्टी उपसभापति धनराज गुरुङ तथा एमाले नेताद्वय सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल र मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लीलाबल्लब अधिकारीले सत्ता पक्षका नेता भएका कारण कानूनी कारबाहीबाट उन्मुक्ति पाएको स्वीकार गरेका छन् ।

उनले विपक्षमा भएकाहरुमाथि एकै प्रकारको कसुरमा कानुनी कारबाही भएको र सत्ता पक्षका नेताहरु कारबाहीको दायराबाहिर परेको भन्ने आममानिसमा परेको मनोविज्ञान सही भएको बताए । कांग्रेस र एमालेमा भएका कारण पोखरेल, गुरुङ र अधिकारीले अतिरिक्त लाभ पाएको र त्यो गलत भएको उनको भनाइ थियो ।

‘चाहे त्यो लेखा सभापति जोडिएको विषय होस्, चाहे मेरो पार्टीको उपसभापति जोडिएको विषय होस् । चाहे त्यो केही सांसद जोडिएको विषय होस् । यी विषयका सन्दर्भमा जुन तरिकाले व्यवहारहरू हुनुपर्थ्यो, अतिरिक्त लाभ कांग्रेस, एमाले भएका कारणले पाउनुभयो भन्ने छ’, अनलाइनखबर डटकमलाई दिएको अन्तर्वार्तामा थापाले भनेका छन्, ‘चाहे त्यो लीलाबल्लभ अधिकारीको हकमा होस् । उहाँहरूले अतिरिक्त लाभ पाउनुभएको छ । त्यो गलत हो, अतिरिक्त लाभ पाउनुहुन्न ।’

थापाले गल्ती गर्नेलाई सरकारले समान व्यवहार गर्नुपर्ने उल्लेख गरे । सत्तापक्ष भएकै कारण उन्मुक्ति पाउनुपर्ने र सत्ता पक्षकालाई कारबाही नभएकाले आफ्नो पार्टीकालाई पनि हुनुहुँदैन भन्नु दुवै गलत भएको तर्क उनको छ ।

‘मेरो पार्टीभित्र ठग, भ्रष्टाचारी वा गलत काम गर्ने कोही छ, तिम्रो पार्टीभित्र पनि छन् भन्ने धारणा देखियो । तिम्रो पार्टीभित्रको मानिसहरूलाई दण्ड–सजाय दिइएको छैन, मेरो पार्टीकोलाई पनि दिन पाइँदैन भन्ने एउटा खालको आइडिया छ । अर्को के रह्यो भने आफ्नालाई जोगाउनुपर्दछ, अर्कोले दण्ड बेहोर्नु पर्दछ’, उनले भने ।