अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य



काठमाडौं । काओइमहे ब्रेको सानदार ब्याटिङसँगै अस्ट्रेलियाले आइसिसी यु–१९ विश्वकपअन्तर्गतकाे खेलमा नेपाललाई १४० को विशाल लक्ष्य दिएको छ ।

वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।

दुई ओपनरसहित कप्तान लुसी ह्यामिल्टनलाई १४ रनमै गुमाएको अस्ट्रेलियाले ब्रेको इनिङ्सले खेलमा पुनरागमन गरेको हो । ३४ बल खेलेकी उनले तीन चौका र तीन छक्कासहित सर्वाधिक ४५ रन बनाइन् । उनले एलेनोर लारोसासँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गरिन् । उनलाई १२.६ ओभरमा रिया शर्माले सिमाना केसीबाट क्याच गराएकी हुन् । लारोसाले भने ३१ रनको योगदान दिइन् । हसरत गिल ३० र क्लो आइन्सवर्थ १६ रनमा अविजित रहिन् ।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक तीन विकेट लिइन् । सिमनाको नाममा दुई र रियाको नाममा एक विकेट रह्यो ।