रविलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

रविलाई श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।

बिहीबार उनको बयान सकिएको छ । मरासिनीका अनुसार भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ ।

लामिछानेको पक्षमा बहस गर्न काठमाडौंबाट पनि कानुन व्यवसायी रुपन्देही आएका छन् । अधिवक्ता नारायणदत्त कँडेल, नारायण घिमिरे, सुशील पन्तसहितका कानून व्यवसायी आएका हुन् । रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ ।

त्यसैगरी, पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने छन् । उनीहरु पनि बहसका लागि रुपन्देही आइपुगेका छन् । सरकारी वकिलको कार्यालयको तर्फबाट १२ जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने छन् ।

लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका थिए ।