बाँकेमा २० प्रजातिका चरा भेटियो, बासस्थान भने संकटमा

बाँकेमा २० प्रजातिका चरा भेटियो, बासस्थान भने संकटमा



बाँके । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा २० प्रजातिका चरा भेटिएका छन् । राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवम् नदीमा ती प्रजातिका चरा भेटिएका हुन् ।

भेटिएका चराका प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताए । उनका अनुसार ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई साँघुरो बनाइदिएको छ ।

तालतलैयाका क्षेत्रमा वनभोजस्थल हुँदा ध्वनि प्रदूषणले पनि चराको बासस्थान संकटमा परेको उनको भनाइ छ । खडखडे, सिलसिले हाँसलगायत जलचर चरा सर्वेक्षणका क्रममा भेटिएका छन् ।

बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका समुदायले गरेको चरा सर्वेक्षण तथा गणनाबाट बाँकेमा दुई सय ७६ चरा भेटिएका छन् । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीले वर्षेनि हुने चराको सर्वेक्षण तथा गणनाबाट चराको बासस्थानमा व्यवस्थापनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।