कानुनीरूपमै टुंगियाे एलिना र विष्णुकाे वैवाहिक सम्बन्ध

कानुनीरूपमै टुंगियाे एलिना र विष्णुकाे वैवाहिक सम्बन्ध



काठमाडौं । गायिका एलिना चौहानले औचारिकरूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकबाट एलिनाले आफूहरू कानुनीरूपमै अलग भएको जानकारी दिएकी छन् ।

पूर्वपति विष्णु सापकोटालाई उनले बाँकी जीवनका लागि शुभकामना दिएकी छन् ।

एलिना फेसबुकमा लेख्छिन्, “प्रिय विष्णु, अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्, हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।”

उनले भावनात्मक मिलन, आपसी विश्वास र समझदारीकाे अभावमा आफूहरू अलग भएको बताएकी छन् ।

एलिना अगाडि लेख्छिन्, “अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ । यो रहरले होईन, जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ । आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ, पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु ।”

एलिनाले १८ माघमा जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् ।

काठमाडौं जिल्ला अदालका न्यायाधीश मोना सिंहको इजलासले अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

एलिनाले ०८१ वैशाख १ मा बागलुङका विष्णुसँग विवाह गरेकी थिइन् । विष्णु अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका छन् ।