विश्व स्वास्थ्य संगठनले नेपाललाई बालबालिकाका लागि क्यान्सरको निःशुल्क औषधि दिने

विश्व स्वास्थ्य संगठनले नेपाललाई बालबालिकाका लागि क्यान्सरको निःशुल्क औषधि दिने



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जीवन दर बढाउने प्रयासमा निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधि प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ ।

सङ्गठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्‍याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा नेपाल, इक्वेडर, जोर्डन र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ । यी छ देशका कम्तीमा ३० वटा अस्पतालमा यस वर्ष क्यान्सर भएका करिब पाँच हजार बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको छ ।

‘पाइलट चरणका देशहरूले गुणस्तर सुनिश्चित गरिएका बाल क्यान्सर औषधिहरूको निरन्तर आपूर्ति निःशुल्क प्राप्त गर्नेछन्’, संयुक्त राष्ट्र स्वास्थ्य निकायले विज्ञप्तिमा भनेको छ । डब्लूएचओका अनुसार न्यून तथा मध्यम आय भएका देशहरूमा बाल क्यान्सर जीवित रहने दर प्रायः ३० प्रतिशतभन्दा कम छ भने उच्च आय भएका देशहरूमा यो करिब ८० प्रतिशत छ ।

‘धेरै लामो समयदेखि क्यान्सर भएका बालबालिकाहरूको जीवन बचाउने औषधिमा पहुँच थिएन’, डब्लूएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भनेका छन् ।

प्लेटफर्ममा सामेल हुन थप छ देशलाई आमन्त्रित गरिएको छ । यसबाट आगामी पाँचदेखि सात वर्षमा ५० देशमा पुग्ने आशा गर्दछ र करिब एक लाख २० हजार बालबालिकालाई औषधि उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

डब्लूएचओका अनुसार विश्वभर हरेक वर्ष अनुमानित चार लाख बालबालिकामा क्यान्सर विकसित हुन्छ । तीमध्ये अधिकांश सीमित स्रोत भएका वातावरणमा बस्छन् ।

‘यस्ता वातावरणका ७० प्रतिशत बालबालिका उपयुक्त उपचारको अभाव, उपचारमा अवरोध वा कम गुणस्तरको औषधि जस्ता कारणले क्यान्सरबाट मर्ने अनुमान गरिएको छ’, डब्लूएचओले भनेको छ ।

डब्लूएचओले निःशुल्क प्रावधान पायलट चरणभन्दा पनि पछि जारी रहने र प्लेटफर्मले लामो समयसम्म यसको दिगोपन विकास गर्न काम गरिरहेको बताएको छ । प्लेटफर्म स्थापना गर्ने योजना पहिलो पटक सन् २०२१ डिसेम्बरमा घोषणा गरिएको थियो ।

यो संयुक्त राज्य अमेरिकाको टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्लुएचओ बीचको संयुक्त उद्यम हो । गैर–नाफामूलक बाल चिकित्सा उपचार र अनुसन्धान संस्थाले यसको प्रक्षेपणका लागि २० करोड डलर प्रतिबद्ध गरेको डब्लूएचओले जनाएको छ ।