नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो : प्रचण्ड

नेपाल बनाउन सम्भव छ, हामीले नै बनाउने हो : प्रचण्ड



गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन सम्भव रहेको भन्दै आफूहरूले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन् ।

बिहीबार गोरखाको पालुङ्टार नगरपालिका १० मा चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै उनले जल, जमिन, जंगल, जडिबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकेको देश भएको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘नेपाल प्राकृतिक रुपमा संसारकै सुन्दर देश हाे । तर, एकथरि मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ । यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं । यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ ।’

आफूले छोटो समयमै सरकारको नेतृत्व गर्दा महत्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादको बाटोमा अघि बढाउन सफल भएको दाबी गरे । उनले भने, ‘मैले सरकारले नेतृत्व गर्दा जलविद्युत् विकासमा जे योगदान गरेँ, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पिंढीलाई पनि समृद्ध बनाउने खाका तयार पारेको छ । नेपाललाई लोडसेडिङमुक्त बनाउने मात्र होइन, दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत उत्पादनको सम्झौता मैले थालेका नमूना काम थिए ।’