चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुको सङ्ख्या बढी भएका क्षेत्र र सुक्खा क्षेत्रमा पानीको आवश्यकता पूर्ति गर्न बोरिङको व्यवस्थापन गरिएको हो । घडियाल गोही प्रजनन केन्द्रमा एउटा, हात्ती सार क्षेत्रमा एउटा, भिम्लेमा दुई वटा, कसरामा दुई वटा, पुरानो पदमपुर क्षेत्रमा एउटा, डुमरिया क्षेत्रमा एउटा र सुखिभारमा एउटा बोरिङ स्थापना गरी वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ ।
चरन क्षेत्रसँगै यहाँ रहेका जनावरलाई पानीको अभावमा बाहिर निस्कनु नपरोस् भनेर सुक्खा क्षेत्रमा बोरिङ जडान गरिएको हो । उनका अनुसार १० लाख रुपैयाँको लागतमा नियमित पानी सञ्चालन हुने गरी सोलार बोरिङ जडान गरिँदै आएको छ । यस वर्ष निकुञ्ज र तराई भू–परिधि कार्यक्रम तालले संयुक्त रूपमा पानीको मुहान संरक्षण र पोखरी मर्मतका लागि २१ लाख रुपैयाँ खर्च गर्ने गरी काम भइरहेको उनले बताए ।
निकुञ्जको नियमित बजेटबाट ६ लाख र ताल कार्यक्रमको १५ लाख रुपैयाँ बजेटबाट पानीको मुहान संरक्षण र पोखरी मर्मत तथा सरसफाइ गर्न लागिएको हो । विशेषगरी लामिताल, थपलिया ताल, देवीताल क्षेत्रमा मिचाहा प्रजातिका झारहरूले पोखरी सुक्खा बनाउन थालेपछि ती ताललाई सरसफाइ गरिएको छ । थप दुई वटा पोखरी नयाँ निर्माण गरिएको निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिए ।
उनले भने, ‘ताल कार्यक्रमले पोखरी निर्माणसँगै मर्मतको काम गरिरहेको छ । हामीले सरसफाइ र निर्माणको काम गरेका छौँ ।’


प्रतिक्रिया