काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) परियोजना स्थगन गरेकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै चन्दले ट्रम्पको कार्यकारी आदेशबाट एमसीसी स्थगन भएकामा नेपाली जनतामा सकारात्मक प्रभाव परेको बताए । चन्दले एमसीसी सधैंका लागि स्थगन गर्न पनि माग गरे ।
‘एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं’, विज्ञप्तिमा चन्दले भनेका छन् ।
एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता र राजनीनिक स्वतन्त्रताविरुद्ध हुने उनले बताए । एमसीसी हिन्द–प्रशान्त रणनीतिको अंग भएको र त्यो नेपाली जनताको अहितमा रहेको आफूहरुले बताउँदै आएको उनको भनाइ छ ।
एमसीसी कम्प्याक्टमार्फत देश र जनताले अकल्पनीय क्षति व्यहोर्नुपर्ने आम नेपाली जनताको जबर्जस्त मत रहँदै आएको दाबी पनि उनले गरे । दोश्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेपछि ट्रम्पले कार्यकारी आदेशमार्फत ९० दिनका लागि एमसीसीसहित वैदेशिक सहायता रोकेका थिए ।


प्रतिक्रिया