झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी

झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी



काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् ।

हुलाकी राजमार्ग केन्द्रित अभियान उद्घाटन समारोहका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कार्यक्रम सञ्चालकप्रति रिसाएर थप नबोली मञ्चमा फर्किएका थिए । जुन भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । तर आज चितवन पुगेर श्रेष्ठले आफूबाट भएको व्यवहारप्रति माफी मागेका हुन् ।

उनले अध्यक्षकै आग्रहमा बोलेको भएपनि मनोवैज्ञानिक अवरोध सिर्जना गरिएको बताए । उनले भने, ‘अध्यक्षले बोलेपछि अरुले बोल्नुपर्दैन भन्नेमा थिएँ । तर, अध्यक्षले भनेपछि सबैले बोल्ने तय भयो ।’

‘अलिकति त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई सामान्य घटनाकै रुपमा लिन अनुरोध गर्छु । जसलाई त्यस्तो नभए पनि हुन्थ्यो भन्ने परेको छ, जसलाई अलिकति चित्त दुखेको छ । ती सबैप्रति सकारात्मक धारणा राख्दै सार्वजनिक रुपमै क्षमा चाहना गर्न चाहन्छु’, श्रेष्ठले भने ।

अभियानको दोस्रो दिनको कार्यक्रम आज मोरङ जिल्लामा जारी छ । अहिले मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आमसभा भइरहेको छ ।

आमसभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पार्टीका उपमहासचिवसम्मका शीर्ष नेताहरु सहभागी छन्। तर, पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजको सभामा देखिएका छैनन् । पूर्वनिर्धारित कार्यक्रम भएकाले हिजो अभियान उद्घाटनपछि काठमाडौं फर्किएको उनको सचिवालयले जनाएको छ । उनी अहिले चितवन पुगेका छन् ।