त्रिभुवन विमानस्थल आसपासको ट्राफिक अस्तव्यस्त

त्रिभुवन विमानस्थल आसपासको ट्राफिक अस्तव्यस्त

काठमाडौंमा आज ११ सयभन्दा बढी प्रहरी परिचालन



काठमाडौं । आइतबार काठमाडौंको सवारी आवागमन अस्तव्यस्त बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउन लागेपछि समर्थकहरु उनको स्वागतमा विमानस्थल पुगेकाले ट्राफिक अस्तव्यस्त बनेकाे हाे ।

राजाबादीहरुले बाक्लो संख्यामा विमानस्थलको गोल्डेन गेट अगाडि प्रदर्शन गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको हो । प्रदर्शनले चाबहिलदेखि तीनकुनेसम्मको सडक अस्तव्यस्त बनेको ट्राफिक प्रहरीले बताएको छ । सडक अस्तव्यस्त बनेसँगै उक्त रुटमा चल्ने सवारी साधन डाइर्भट गरिएको छ ।

चाबहिलदेखि गौशाला हुँदै तीनकुने आउने सवारी साधनलाई अन्य रुटबाट पठाइएको छ भने सो रुट खाली गरिएको छ । बसहरु तीनकुनेबाट डाइर्भट गरिएकाे छ ।

सवारी प्रवेश निशेष गरिएपछि यात्रुहरु अलपत्र परेका छन् । केहीबेरमा पूर्वराजा शाह काठमाडौं अवतरण हुँदैछ । राजाबादीहरुले विमानस्थलबाटै निर्मल निवाससम्म र्‍याली निकालेर जाने तयारी गरिएको छ ।

काठमाडौंमा आज ११ सयभन्दा बढी प्रहरी परिचालन गरिएकाे छ । प्रहरीसँगै सशस्त्र प्रहरी, अनुसन्धान विभागका कर्मचारीहरू पनि खटिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबारका लागि आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।