माओवादीले गणतन्त्र रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने

माओवादीले गणतन्त्र रक्षाका लागि काठमाडौंमा प्रदर्शन गर्ने

परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको प्रचण्डकाे ब्रिफिङ



काठमाडौं । नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौंमा प्रदर्शन गरेरमात्रै अभियानमा फर्किने निर्णय गरेको छ ।

सोमबार बसेको पदाधिकारी बैठकले आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकको मिति भने मंगलबार अपराह्न ४ बजे बस्ने पदाधिकारी बैठकले तय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पार्टी तराईं मधेश जागरण अभियानमा केन्द्रित हुँदा काठमाडौंका सडक खाली भएकाले राजावादीहरूले मौका पाएको निष्कर्ष निकालेको सचिव डोरप्रसाद उपाध्यायले बताए ।

उनले भने, ‘अहिले हामी समीक्षामा छौं । यो प्रदर्शनबारे सरकारको राय पनि बुझ्छौं । सबै गणतन्त्रवादी शक्तिहरूलाई एकजुट बनाएर काठमाडौंको सडक र सदनलाई पनि प्रभावकारीरूपमा प्रस्तुत भएरमात्रै अभियानमा फर्किन्छ ।’

उनले अहिलेसम्म अभियानले नयाँ जागरण पैदा गरेको भन्दै काठमाडौं केन्द्रित कार्यक्रम गरेपछि मात्रै नयाँ कार्यतालिका सार्वजनिक गर्ने बताए ।

प्रचण्डले आज खुमलटारमा परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गरेको सचिव उपाध्यायको भनाइ छ । व्यवस्थाविरुद्ध राजतन्त्रवादीहरूको प्रयासको कारणबारे अध्ययन गरिने उनले बताएका थिए ।

प्रचण्डले यही विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्ने तयारीमा आफू रहेको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आएका थिए । चार्टर्ड विमानमा काठमाडौं आएका पूर्वराजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटबाट राप्रपा, राप्रपा नेपाललगायतका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।