काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले गणतन्त्रविरूद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेल र गतिविधि बढाएको भन्दै उनीहरूले इतिहासमा गरेको कुकर्मको नांगेझार गर्न आग्रह गरेको छ ।
एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले यस्ता गतिविधिहरू नेपाली जनताको चाहना र भावना विपरीत रहेको र यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकताबद्ध भएर अगाडि बढ्न आवश्यक भएको निष्कर्ष निकालेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएका क्रियाकलापको गम्भीर समीक्षा गर्दै सबै दल, वौद्धिक जगत, नागरिक समाज र जनसमुदायमा अपिल गरेको छ ।
‘अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधान सभाबाट स्थापित गणतन्त्रका विरूद्ध गतिविधि गर्न थालेका छन् । यस्ता गतिविधिहरू नेपाली जनताको चाहना र भावना विपरीत छन् । यस विषयमा परिवर्तनका पक्षधर व्यक्तिहरू एकतावद्ध भएर अगाडि बढ्न आवश्यक छ। वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरूत्थानवादी तत्वहरूले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौं,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
यसैगरी बैठकले आगामी चैत १ गते बृहत् पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनको निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया