प्रधानमन्त्रीलाई रघुजीले भने– मन्त्री फेर्ने बेला भयो

प्रधानमन्त्रीलाई रघुजीले भने– मन्त्री फेर्ने बेला भयो



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका मन्त्रीहरु फेर्न सुझाव दिएका छन् । सरकारप्रति प्रश्न उठ्दा मन्त्रीहरुले स्पष्ट जवाफसमेत दिन नसकेको भन्दै उनले मन्त्रीहरु फेर्न सुझाव दिएका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई उनले बुझेर मात्र प्रश्न गर्न आग्रह गरे । “आज उठ्यो सुविधा दिने विधेयक ल्याइँदै छ । म नाम लिन्नँ, प्रतिपक्षका सांसद गार्ड लिएर हिँड्नुहुन्छ । अहिले सांसद मात्रै हुनुहुन्छ,” उनले भने, “भन्नुस् न, त्यो विधेयक आउँदै छ भन्ने कुरा साँचो हो कि होइन ?”

सांसद पन्तले सर्वोच्च अदालतको आदेशानुसार नै डेढ वर्षदेखि कानुन मन्त्रालयमा उक्त विधेयकको ‘ड्राफ्ट’ बनिरहेको बताए । “सरकारबाट पावरमा भएकाले अन्धाधुन्ध सुविधा लिए भनेर सर्वोच्च अदालतले जथाभावी नगर, मापदण्ड बनाएर मात्रै देऊ भन्यो । त्यो विधेयकको ड्राफ्ट डेढ वर्षदेखि कानुन मन्त्रालयमा चलिरहेको छ । यो सरकार आएको कति भो ?,” उनले प्रश्न गरे ।

प्रश्न उठाइएछि संसद्‌मा जवाफ नदिएर मन्त्रीहरूले बाहिर बोलेर हिँडेको भन्दै उनले आपत्ति जनाए । “यो त मन्त्रीजीहरूले बोल्नुपर्ने । मन्त्रीजीहरूको पारा देखेर छक्क पर्छु । हिजो प्रकाशमानजीले यो कुरा होइन भनेर पाल्पामा बोल्नुभएछ । आएर त्यही कुरा संसद्‌मा भने भो नि,” उनले भने । “भन्नुपर्‍यो नि आएर, कसरी बनेको ? के कारणले बनेको ? कुन अवस्थामा छ ? सरकारको सोच के छ ? पटक–पटक प्रश्न उठेपछि मन्त्रीहरू कानमा तेल हालेर बस्न मिल्छ ?”

उनले जनताको चासो सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आग्रह गरे । “म प्रधानमन्त्रीलाई पनि आग्रह गर्दछु– जनताको चासोलाई सम्बोधन गरौँ । जनताको भावनालाई सम्बोधन गरौँ । लोकतन्त्र भनेको जनभावनाअनुसार अघि बढ्ने हो,” उनले भने ।

प्रधानमन्त्रीलाई उनले मन्त्री फेर्न सुझाव समेत दिए । “उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गरेको छैन भने, यो प्रधानमन्त्रीय व्यवस्था हो । मन्त्रीहरू फेर्ने बेला आयो । पफर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन । निश्चय पनि प्रधानमन्त्रीले मूल्यांकन गर्नुभएको होला,” उनले भने ।