काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउँदैमा पक्राउ पर्नु उचित नहुने बताएका छन् ।
हेटौंडामा शनिबार प्रचण्डको फोटो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन केन्द्रीय समितिका सचिव निराजन बमले जलाएका थिए ।
बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस घटनाकाे सन्दर्भमा उनले सामाजिक सञ्जाल फेसकबुकमा लेखेका छन्र, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’
पूर्वप्रधानमन्त्रीको फोटो जलाउने कार्य गलत र आपराधिक क्रियाकलाप भएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । हेटौँडामा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा हिजो सङ्घीय सांसद दीपकबहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाएका थिए ।
बमलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले विज्ञप्ति निकालेर सरकारले नागरिकको वैयक्तिक स्वतन्त्रतालाई अवरोध गरेको आरोप लगाएको छ ।
प्रतिक्रिया