राष्ट्रिय सहमतिको सरकार बेमौसमी विषय हो : एमाले

राष्ट्रिय सहमतिको सरकार बेमौसमी विषय हो : एमाले

जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हानिकारक र निर्थक



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकारबारे अहिले चलिरहेको चर्चालाई बेमौसमीको संज्ञा दिएको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले संकटको अवस्थामा कसैले पनि सत्तामा जाने भर्‍याङ बनाउन नहुने बताए ।

राष्ट्रिय सहमतिको सरकारबारे उनले भने, ‘यो एकदमै बेमौसमी विषय हो । यो बिषयमा हामी प्रवेश गरेनौं । यस्तो बेलामा पनि भागबन्डा खोज्ने भनेको चाहिँ हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्‍याङ बनाउन खोज्या हो ?’

आइतबारमात्र माओवादीका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको भन्दै प्रारम्भिक छलफलसमेत सुरू भएको बताएका थिए ।

त्यसैगरी एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै विशेष प्रस्ताव पारित गरेको छ । बैठकले पछिल्लो घटनाक्रमबारे प्रस्ताव पारित गरेको हो । एमालेले वंशगत शासनको बहसलाई हास्यास्पद भनेको छ ।

‘हामी एक्काइसौँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हानिकारक, हास्यास्पद र निर्थक हुनेमा विशेष जोड दिन चाहन्छौँ,’ प्रस्तावबारे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।