काठमाडौं । नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।
आईजीपी नियुक्तिसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थापाले मंगलबारदेखि प्रहरीको कमान्ड सम्हाल्नेछन् । आईजीपी वसन्तबहादुर कुँवरले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण आज रातिबाट अवकाश पाउने भएपछि थापा प्रहरीको ३१औँ आईजीपी बनेका हुन् ।
थापाले ०५२ भदौ १९ गतेदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । प्रहरीको ३० वर्षे सेवा अवधि नहटेको खण्डमा थापाले आगामी भदौमै अवकाश पाउनेछन् ।
आईजीपी कुँवरले ०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । सरकारले उनलाई ०७९ चैत १० मा आईजीपी नियुक्त गरेको थियो । करिब दुई वर्ष प्रहरीको कमान्ड सम्हालेका उनी आजबाट अवकाशमा गएका हुन् ।
प्रतिक्रिया