काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्ने बताएका छन् ।
मंगलबार दर्ज्यानी चिह्न ग्रहण गर्दै उनले अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहानाबिना अघि बढाउने प्रतिबद्धता जनाए । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाएर नागरिकमा अमन चयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने बताए ।
आईजी दीपक थापाले प्रहरीमा सुधार आवश्यक रहेको बताएका छन् । ‘प्रहरी समाजको आवश्यकता र उपज पनि हो । हरेक समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी मुक्त छैन । प्रहरी कस्तो छ भनेर हामीले लुकाउनु पर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फ म विश्वास पनि गर्दिन । प्रहरीमा सुधार आवश्यक छ । त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन’, थापाले भने ।
सुधारको प्रारम्भ कोही व्यक्तिबाट नभइ आफैंबाट हुने पनि उनले बताए । कार्य क्षमताको उचित मूल्यांकन, नेतृत्वको क्षमताको तत्काल सजाय र पुरस्कारमार्फत गरिने पनि उनले बताए ।
गृह मन्त्रालयमा एक समारोहका बीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१औँ आईजीपी बनेका छन् ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गरे । उनले आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक, इमान्दारितका साथ पूरा गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया