बीपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै

बीपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै



काभ्रेपलाञ्चोक । गएको असोजको दोस्रो हप्ताको बाढी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गमा अहिले खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा गाडी सञ्चालन भइरहेको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले वैकल्पिक सडक बनाएर गाडी सञ्चालन हुँदै आएको छ ।

बर्खायाम नजिकिएसँगै ती सडकमा गाडी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने लागेको हो ।

अहिले चौकीडाँडामा धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भइरहेको छ ।

कार्यालयले दीर्घकालीन पक्की सडक निर्माण गर्न ठेक्का आह्वान गरेको भए पनि तत्कालका लागि वैकल्पिक सडक बनाउने क्रममा रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादले बताए ।

बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको सिमानासम्ममा झन्डै आठ किलोमिटर सडक बगाएको थियो ।

अहिले सडक डिभिजन कार्यालयबाट दुई इन्जिनियर, एक सब–इन्जिनियरसहित ३० जना अपरेटर निरन्तर काममा छन् । आउँदो वैशाखभित्र ती सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयले जनाएको छ ।