एमबाप्पेको बायाँ घुँडामा चोट, नेसन्स लिगका खेल गुमाउने

एमबाप्पेको बायाँ घुँडामा चोट, नेसन्स लिगका खेल गुमाउने



लन्डन । फ्रान्सका कप्तान किलियन एम्बाप्पेलाई राष्ट्रिय टोलीबाट खेल्ने क्रममा बायाँ घुँडामा ‘हाइपरएक्सटेन्सन’ (घुँडाको जोर्नी सामान्य सीमाभन्दा बढी तन्किने समस्या) भएको उनको क्लब रियल म्याड्रिडले जनाएको छ।

यद्यपि, ला लिगा पुनः सुरु हुँदा उनी खेल्नका लागि तयार हुन सक्छन्।

हालै जारी गरिएको विज्ञप्तिमा स्पेनिस क्लबले भनेको छ, “रियल म्याड्रिडको चिकित्सा विभागद्वारा आज गरिएका परीक्षणहरूमा हाम्रा खेलाडी किलियन एम्बाप्पेको बायाँ घुँडाको पछाडिको भाग (पोस्टिरियर क्याप्सुल) मा हाइपरएक्सटेन्सन भएको पुष्टि भएको छ।”

शुक्रबार टर्कीविरुद्ध फ्रान्सको १-० को जितमा गोलको खाता खोलेको केही समयपछि नै ती फरवार्ड मैदानबाट बाहिरिए। इस्तानबुलबाट करिब १०० किलोमिटर (६० माइल) दक्षिण-पूर्वमा रहेको इज्मितको कोकाएली रंगशालामा गोल (फ्रान्सका लागि उनको ६७औँ गोल) को खुसीयाली मनाउन सहकर्मीहरू नजिक आउँदा उनी पीडाले छटपटाएका देखिन्थे।

उपचारपछि खेल्ने प्रयास गरे पनि अन्ततः उनी भुइँमा ढले। मैदानबाट बाहिरिनुअघि उनले आफ्नो बायाँ घुँडाको बाहिरी भाग छाम्दै चिन्तित मुद्रामा देखिए र त्यसपछि डेजायर डुएले उनको स्थान लिए।

नयाँ प्रशिक्षक जिनेदिन जिदानले फ्रान्सले “कुनै जोखिम नलिने” बताए र आगामी १० दिनभित्र हुने नेसन्स लिगका तीन खेलमा एम्बाप्पेलाई नखेलाउने जानकारी दिए।फ्रान्सले सोमबार बेल्जियमको भ्रमण गर्नेछ भने त्यसपछि अक्टोबर २ र ५ मा ‘स्टेड डे फ्रान्स’ मा इटाली र बेल्जियमको सामना गर्नेछ।

अन्तर्राष्ट्रिय खेल विश्रामपछि अक्टोबर १० मा भिल्लारियलविरुद्ध हुने रियल म्याड्रिडको पहिलो खेलमा एम्बाप्पेको पुनरागमन छिटो हुन सक्छ, तर स्पेनिस दैनिक ‘एएस’ ले जनाएअनुसार उनी अक्टोबर २५ मा बार्सिलोनासँग हुने ‘क्लासिको’ (El Clásico) खेलका लागि भने पक्कै पनि तयार हुनेछन्।