काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हाे ।
आज कुलमान र हितेन्द्रदेवको रिटलाई विशेष प्राथमिकता दिई सुनुवाई भएको थियो । चुडाल र पाण्डेयको इजलासमा ४२ वटा मुद्दाको पेसी तोकिएकोमा २ रिटमाथिको सुनुवाइलाई प्राथमिकतामा राखी इजलासले ३४ मुद्दाका रिटमाथिको पेसी ‘हेर्न नभ्याइने’मा पठाएको थियो । बाँकी ६ वटा रिट हेर्न नमिल्नेमा परेका थिए ।
घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।
शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए । सो रिटमा कुनै निर्णय नभई चार वर्ष बितेपछि उनले हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर गर्दै अर्को रिट दायर गरेका हुन् ।
प्रतिक्रिया