‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सत्तारुढ दलहरुकाे सुझाव

‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सत्तारुढ दलहरुकाे सुझाव



काठमाडौं । सत्ता गठबन्धन दलहरूबीच सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको बैठकले गठबन्धन दलका नेताहरूले नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए ।

सरकारको नीति तथा कार्यक्रमबारे सुझाव प्राप्त गर्न बैठक आयोजना गरिएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । सत्ता सहयात्री दलहरूले ‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन र समेट्नुपर्ने विषयमा महत्त्वपूर्ण सुझाव दिएका छन् ।

‘सत्ता सहयात्री दलहरूले आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्नुपर्ने मुख्य मुख्य विषय समेट्नेबारे महत्त्वपूर्ण सुझाव दिनुभयो । लोकतन्त्रलाई थप सुदृढ गर्ने गरी विभिन्न कोणबाट भइरहेका हमला तथा आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने कुरा छन् । विकास निर्माण समयमै सकिने र उच्च प्राथमिकता दिनुपर्छ भन्ने भएको छ । बजेट छरिएको, स्रोतहरूको अपव्यय भइरहेको छ’, उनले भने ।

यस्तै अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको क्षमता बढाउने, युवा पुस्तालाई आशा र विश्वास जगाउन उद्यमशीलताको विश्वास जगाउने खालको कार्यक्रम ल्याउनेबारे सुझाव आएको उनको भनाइ छ ।

बैठकबारे थप जानकारी दिँदै उनले भने– ‘युवा पुस्तालाई आशा र विश्वास जगाउनका निम्ति उनीहरूमा उद्यमशीलताको विकास गर्ने, सिप विकास, स्टाटअप, व्यवसायी योजना र बजार व्यवस्थापनको समग्र योजनासहितको कार्यक्रम ल्याउनुपर्छ । अर्थतन्त्रलाई लयमा ल्याउन सरकारको क्षमता बढाउने, अनावश्यक र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्ने, सुशासनलाई प्रभावकारी बनाउन सुझाव आएका छन् । बाह्य सम्बन्धलाई थप सुदृढ गर्ने । बसाइसराई रोक्न पहाड केन्द्रित रोजगारी, कृषि व्यवसायका कार्यक्रम अगाडि बढाउने । विगतका भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् । र, त्यही ढङ्गले बजेटलाई पच्छ्यायोस् ।’

यस्तै बैठकले शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक भएकाले आज दिउँसो सम्म निष्कर्षमा पुग्ने विश्वास लिएको छ । सुरुमा शिक्षककै कारण सहमतिमा पुग्न ढिलाइ भएको आरोप लगाउँदै ज्ञवालीले बिहीबारसम्म पठनपाठन हुने वातावरण बन्नेमा बैठक आशावादी देखिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संसद्‍मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।